शिव प्रकाश
साहित्य के हो भन्ने विषयमा विभिन्न धारण, मतमतान्तर भएता पनि जीवन र जगतका भोगाइहरु विभिन्न रस र सौर्न्दर्यका रुपमा अन्तष्करणबाट अभिब्यक्त हुने कलात्मक भावुक विचार नै साहित्य हो भन्ने मलाई लाग्दछ । साहित्यका वारेमा धारण वा साहित्यको परिभाषा जे भएता पनि साहित्यको सृजना कसरी हुन्छ ? यो अर्को गहन प्रश्न छ ! तर यसको सजिलै उत्तर दिएकी छिन् कवियत्री भारती गौतमले आकाशमाथिको शहरमा यसरी -
बगैंचाको शीत बनी म रोएको बेलाचराको संगीत बनी म रमाएको बेला
खडेरीको अनिकाल बनी म डराएको बेला
वसन्तको पालुवा बनी म पलाएको बेला
मेरो कविताले मलाई सधैं साथ दिने गर्छ ।
हो, एउटा कवि मनलाई, कवि चेतनालाई, कवि भावनालाई राम्रोनराम्रो, मीठोनमीठो, खुशीबेशुसी र सुखदुःख जुनसुकै बेलामा पनि कविताले साथ दिन्छ । कथाले साथ दिन्छ । समग्रमा साहित्यले साथ दिन्छ । अझ त्यसलाई संक्षेपमा भन्ने हो भने लेखनले साथ दिन्छ । अनि त्यस्तो लेखन नै वास्तवमा साहित्य हुन्छ । कवियत्री गौतमको जस्तो विशुद्ध साहित्य !
यस्तै विभिन्न विषय र वस्तु, समय र परिस्थिति, अनुभव र अनुभूति अनि हाँसो र खुशीको समग्रभावको समष्टि स्वरुपमा कलात्मक अभिब्यक्ति र शैलीद्वारा आभूषित एउटा काव्यात्मक शहर बसाएकी छिन् कवियत्री भारती गौतमले नेपाली साहित्यको फाँटमा नितान्त नयाँ शहर "आकाशमाथिको शहर" !
यो शहर ढुङ्गामाटो भौतिक शहर हैन, यो शहर हो - काब्यको शहर ! कल्पनाको शहर ! भावनाको शहर ! सिर्जनाको अलौकिक शहर ! नितान्त नौलो शहर - आकाशमाथिको शहर !
घरदेश छोडेर धेरै अघि परदेशीएकी कवियात्री गौतमको लामो समयको विश्राम पछि नेपाली साहित्य लेखन क्षेत्रमा आएको सक्रियताले एउटा सरस, सौर्न्दर्य र भावपूर्ण साहित्यिक कृति जन्माएको छ "आकाशमाथिको शहर" भनेर आधुनिक कविता संग्रहको रुपमा !
आकाशमाथिको शहरमा कवियत्रीले मूलतः मानवीय जीवनका आरोहअवरोहलाई विषय र वस्तुका अन्तरभिन्नता र अन्तरद्वन्दलाई कलात्मक ढंगले शुक्ष्मतापूर्ण विश्लेषण गरेकी छिन् । यी विश्लेषणलाई कवियत्री आफ्ना कवितामा यसरी ब्यक्त गर्छिन-
इश्वरको सृष्टिसृष्टिबीचकै
साझा साइनो थियो आँसु !
विस्तारै आँसुको भाषा अब त मान्छेमान्छेबीच पनि पराइ हुँदै गइरहेछ
क्लिष्ट हुँदै गइरहेछ
मान्छेले मान्छेको आँसुको भाषा
बुझ्न पनि क्रमशः गाह्रो हुदै गइरहेछ ।
कवि ! कवि भनेको स्रष्ट्रा हो । त्यसैले कविको मन कोमल हुन्छ, कमलको फूलको केस्राभन्दा पनि कोमल ! कविको मन सागरजस्तो हुन्छ, छछल्कि रहन्छ । तरङ्गीत भइरहन्छ । दुःखमा कवि कवितमा रुन्छ, शब्दमा रुन्छ, भावमा रुन्छ । यसरी युद्ध विभिषिकाबाट अत्तालिएर कवियत्री भारती गौतम आकाशमाथिको शहरमा यसरी रोएकी छिन् -
गुँरास हैन, मेरै नातेदारको रगतले रंगीएको छ
मेरो मुलुको जंगलमा कोइलीले
रोदन र चित्कार गाउन थालेको छ ।
गौतमका कविताहरुमा रुपमात्र हैन, रुपकहरु छन् । सौर्न्दर्यलाई बढाउने श्रृङ्गारहरु छन् । मिथकहरुमात्र हैन मीठामीठा मिश्रति भाव र शैलीहरु छन् । कवियत्रीले विम्वहरुसँग खेल्दै प्रतीकहरुसँग रमाउँदै विशुद्ध साहित्यिक कृतिको एउटा शहर बसाएकी छिन्-आकाशमाथिको शहर !
धेरै उत्कृष्ठ र केही मध्यम कविताहरुको समष्टि स्वरुप हो आकाशमाथिको शहर । सेरोफेरो पुरा गरेर बिट मार्दासम्म कतै अल्छि र विश्रामको अनुभूत नहुने एउता सुन्दर काब्यत्मक शहरका रुउपमा स्थापित भएको छ कवियत्री गौतमको आकाशमाथिको शहर !
कवितामा भाषा र शब्द संयोजनले कतै चित्र बोलेका छन् । कतै विम्वहरुले प्रकृतिका सुन्दर दृष्यहरु र्छलङ्ग खोलेका छन् । आकाशमाथिको शहरलाई यसरी नै सजाएकी छिन् । सुन्दर बनाएकी छिन् कवियत्री गौतमले !
श्रीमती गौतमका कवितामा मानवीय भावना, वेदना, सम्वेदना, चेतना, नियति,र निरपेक्षता अनि करुणा, कल्पना, आशा र निराशाहरु बोलेका छन् । प्रकृतिका रुपप्रारुप, दृष्य र सौर्न्दर्यका प्रचुर प्रयोगले कविताको सुन्दरता बढाएका छन् ।
आकाशमाथिको यो नौलो शहर बोधगम्य छ । सरल छ । शिष्ट छ । सभ्य छ । समग्रमा पठनीय छ । संग्रहनीय छ । संग्रहमा साठी कविता संग्रहित छन् ।
0 प्रतिक्रियाहरु:
Post a Comment