Jul 16, 2009

म बिक्रीमा छु {-राधेश्याम लेकाली}

मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन्
मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो योजना, प्रतिवद्धता र दृढताहरू बिक्रीमा छन्
मेरो कलम, शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमङ्गहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो विवेक, चाहना र दृष्टिकोणहरू बिक्रीमा छन्
मेरो सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सपनाहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो आत्मा, चिता र श्रद्धाहरू बिक्रीमा छन्
मेरो मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सैयौं मृत्युहरूमा रमाउनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

***************************************

भेरीको किनारमा{- राजेश्वर कार्की}


भेरीको किनारमा
म रुंदारुंदै थाकेछु भने
मलाई सम्हालेर
किनाराकै छेउको बगरमा राखिदिनू' भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ'
कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने
मलाई भेरीको किनारबाट उठाएर
मेरो आंसुको नदीमा बगाइदिनू
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने'

कतै मन लुकाउने ठाउं नभएर भाग्दाभाग्दै
मनहरूबाटै धेरै टाढा भागिएछ भने
मलाई बाटैबाट र्फकाएर ल्याउनू
र भेरीको किनारमा लमतन्न सुताइदिनू
जसमा टेकेर
धेरैले आफ्नो गन्तव्य पूरा गर्नेछन्
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने' ।




0 प्रतिक्रियाहरु:

Post a Comment

 
Design by सुर्य बहादुर खत्री . सम्पूर्ण सर्बधिकार भोईस अफ सिन्धु मा निहित। .