Jul 16, 2009

ख्यातिका हत्यारा वीरेनक

हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।

पैसाको भोक

जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ ।

एक्लै अपहरण गर्न सक्दिनथेँ । त्यसैले सहयोगी खोज्न थालेँ । यसका लागि मेरिना शाक्य उपयुक्त लाग्यो । र, मैले उनलाई सबै योजना सुनाएँ । त्यस्तै, असार १७ गते मेरिनालाई बोलाएर भ्वाइस अफ ओमेनको बारेमा सबै बताएँ । योजनाअनुसार मेरिना भोउ म्यागेजिनको संवाददाता बनिन् र म कमिटी एड्भाइजर ।मेरिनाले २१ गते ख्यातिलाई फोन गरेर बोलाइन् । ख्यातिले २२ गते पुतलीसडकमा भेट्ने प्रस्ताव गरिन् ।

यसरी भयो हत्या
जेठ २२

बागबजारमा रहेको कोरोना इन्टरनेसनल बि्रजकोर्स गर्दै गरेकी मेरिनालाई भेटेँ । र, चिया खाँदै ख्यातिसँग गर्ने कुरा सिकाएँ । पत्रिकाको नक्कली परिचयपत्र र ख्यातिलाई कोठासम्म ल्याउन पाँच सयको नोट दिएँ । एउटा केटाको बाइकको पछाडि ख्याति आइरहेकी थिइन् । मैले टाढैबाट मेरिनालाई चिनाइदिएँ, त्यही हो ख्याति भनेर ।उनीहरू कोठामा आइपुग्नुअगाडि नै म कोठामा पुगिसकेको थिएँ । दुवैजना कोठामा छिरे । ख्यातिले मलाई चिनिहालिन् । 'अंकल तपाइं पनि यहाँ' भनेर सोधिन् । मैले आफू भोउ पत्रिकाको सल्लाहकार भएको बताएँ ।

मैले एनजिट नामकको औषधिको १० वटा ट्याबलेट पिसेर कफीमा हालेर ठीक पारिसकेको थिएँ । त्यसैले कफी खाने प्रस्ताव गरेँ । कफी पिउने क्रममा ख्यातिलाई तीतो लागेछ । औषधि त घोलिएको रहेनछ । कामै गरेन । फेरि म बाहिर निस्केर स्लाइसको बोतलमा १० वटा एनजिट ट्याबलेट हालेँ ।स्लाइस खाएपछि 'अब इन्टरभ्यू दिऊँ' भन्न थालिन् ख्याति । मैले तयार पारेको प्रश्नपत्र दिएँ । बल्ल औषधिले काम गर्न थाल्यो । ख्याति निद्रा लाग्यो भन्न थालिन् । मैले आराम गर भनेर बेड देखाएँ । उनी सुतिन् ।

मैले उनको हात-खुट्टा बाँधे । मुखमा टेप बाँध्न खोज्दा ख्याति त कराउन पो खोजिन् । डर लाग्यो । चिच्याएको सुनिएमा योजना चौपट हुन सक्थ्यो । त्यसैले उनको टाउकोमा पटक-पटक हानेँ । हातले घाँटी र मुखमा थिचेँ । मेरिना सोफामा बसेर सबै हेरिरहेकी थिइन् । उनी 'न गर न बाबा' भन्दै रोक्न आइन् । मैले हुत्याइदिएँ । ख्याति त चलमल गर्न छाडिन् ।

मेरिना घर जान्छु भन्न थालिन् । मैले जान दिइनँ । यहीँ बस भनेँ । 'कतै ख्याति त मरिन ?' भन्दै झकझक्याएँ । कुनै प्रतिक्रिया आएन । डर लाग्यो । कतै योजना बीचैमा तुहिने त होइन ? उनको नाक र मुखमा हात राखेर सास लिएको छ कि छैन हेरेँ । अँ हँ थिएन । नाडी र छाती छामेँ । मुटुको चालसमेत छैन । ख्यातिको सास गइसकेछ ।मेरिना जान्छु कि जान्छु भनेर ढिपी गर्न थालिन् । मैले उनलाई घटनाबारे कसैलाई नभन्नू, भन्यौ भने आमा, बाबा, भाइ सबैलाई मारिदिन्छु भनेर धम्क्याएँ । उनले कसैलाई भन्दिनँ भनिन् । ११ बजे मैले मोटरसाइकलमा राखेर मेरिनालाई घरसम्म छाडिदिएँ । कोठामा एक्लै बस्न मन लागेन । के-के सोचेँ के-के । फेरि, मेरिनाको घर गएँ र, उनलाई ल्याएँ । उनलाई अमेरिकी दूतावासमा पुर्‍याएँ । पसलबाट प्लास्टिक किनेँ अनि कोठामा आएँ । ख्यातिको सेल-सिम त्यत्तिकै थियो । त्यसलाई आफ्नो मोबाइलमा हालेँ । फोन आयो । मैले 'कौन ख्याति ?' भनेर मोबाइल नै 'अफ' गरेँ ।

लास कसरी तह लगाउने टेन्सन त्यही थियो । मोटरसाइकल झिकेर लास फाल्ने ठाउँ खोज्न हिँडेँ । वनस्थली, स्वयम्भू, डल्लु, क्षेत्रपाटी घुमेँ । यही बीचमा मोबाइल 'अन' गरे । फोन आयो । ख्यातिको दाइ हो भन्यो, कसैले फोनमा । मैले बुबालाई दिनुस् भनेँ । मैले हिन्दीमा 'तुम्हारा बेटी मेरे कब्जेमे है और उसको जिन्दा चाहिए तो १० लाख तयारी रखना' भनेँ । कता जाने ? पुनः कोठामै फर्किएँ । फेरि मेरिनालाई लिन अमेरिकी एम्बेसी गएँ । उनलाई कोठामा ल्याएपछि लास तह लगाउने विषयमा कुरा गरेँ । उनी डराइन् । तन्नामा लास बेरेर कतै लगेर फाल्ने योजना बनाएँ । मेरिनाले सुत्ने कोठाबाट तन्ना ल्याइन् । मैले लास बेरेँ ।लास फाल्न बाहिर निकालेर मोटरसाइकलमा बाँध्न लागेको मात्र थिएँ, घरबेटी आइपुगे । हतार-हतार लास भित्र लगेर राखेर बाहिर हिँडे । बेचैनी बढिरहेको थियो । बालाजु चोकमा पुगेर दुई बोतल हि्वस्की किनेर कोठामा फर्किएँ । टिभी हेर्दै हि्वस्की सिध्याएँ । र, सुतेँ ।

लास गन्हायो
२३ जेठ :
लास हल्का गन्हाउन थालिसकेको थियो । तन्ना र कार्पेटले बेरेर कोठामा त्यत्तिकै राखेको थिएँ । मरेको मान्छेको तौल बढी हुने रहेछ । एक्लै बोक्नै सकिनँ । दोस्रो व्यक्ति कोही थिएन । सोह्रखुट्टे फलफूल चोकमा पुगेर फेरि प्लास्टिक र केही कार्टुनबक्स लिएँ । सामान कोठामा राखेर बाहिर गएँ ।

भगवान्सित सुतेँ
२४ जेठ
सिंगो लास टुक्रयाउने योजना बनाएँ । कोठाबाहिर गएर थप दुईवटा कार्टुन बोकेर आएँ । त्यतिखेर नौ बजिसकेको थियो । भान्छामा गएर मासु काट्ने चुप्पी ल्याएँ । धारिलो थियो चुप्पी । पहिला हातको कुहिनाको ज्याइन्टमा काटेर दुवैहात छुट्याएँ । अनि कुमबाट काटेर चार 'पिस' बनाएँ । घुँडा र फिलाको ज्वाइन्टमा काटेर खुट्टा पनि छुट्याएँ । अनि प्लास्टिकमा बेरेर गन्हाउने डरले फ्रिजमा राखेँ । शरीरका बाँकी भागलाई पनि प्लास्टिक र कार्पेर्टले बेरेर राखेँ । धुप बालेँ । अत्तर हालेँ । पंखा चलाएँ ।चार बजेतिर मेरिनालाई लिन बबरमहल गएँ । स्कुलमा गएर छोरीहरू लिएर उनीहरूको मामाघरमा लगेर छाडिदिएँ ।यो हुँदै गर्दा, ख्यातिका परिवारसँग मोबाइलमा कुरा भइरहेको थियो । एसएमएसमार्फत उनीहरूसँग १० लाख मागिरहेको थिएँ । तर, उनीहरू यत्रो पैसा छैन भन्दै थिए । कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।

लास धोएँ पनि
२५ जेठ
बिहान उठेर चिया बनाएर खाएँ । पैसा थिएन साथमा । कोठामा लास थियो । यसो हेरेको ख्यातिको औँलामा सुनको औँठी रहेछ । बालाजुमा रहेको एक सुन पसलमा गएर पैसा भएन यो आैठी राखेर केही पैसा दिनुस् भनेर पच्चीस सय बोकेर आएँ ।बागबजार गएर मेरिनालाई लिएर कोठामा आएँ । लास बैठक कोठामा थियो । लास अरू गन्हाउन थाल्यो । लासको गन्ध भगाउन धुप बालेर पंखा चलाइदिएँ । लासलाई धोयो भने गन्हाउँदैन कि भनेर टाउकोसहितको जिउलाई ट्वाइलेटमा लगेर साबुन-पानीले धोएँ । कोठामा पानी थिएन । त्यसैले लास धुन मेरिनाले बाहिर पम्पबाट पानी ल्याइन् । चक्कुले टाउको छुट्याएर प्याक गर्न थालेँ । मेरिनाले प्लास्टिक समातेर सहयोग गरेकी थिइन् । टाउको साबुन-पानीले पखालेर प्लास्टिकले बेरेर फ्रिजमा हालेँ । अनि जिउलाई कार्पेटले बेरेर राखेँ । मेरिनालाई घरमा लगेर छाडिदिएँ ।

यसरी फालियो शव
२६ जेठ
बिहानै चार बजेतिरै निद्रा खुल्यो । लास गन्हाइरहेको थियो । आज त जसरी पनि लास तह लगाउनु थियो नै । नत्र लास गन्हाएर अरूले थाहा पाउने डर बढिरहेको थियो । आज जसरी पनि लास फाल्छु भनेर ट्याक्सी खोज्न निस्किएँ ।सोह्रखुट्टेमा ट्याक्सी फेला पारेँ । कोठामा सामान छ भनेर ड्राइभरलाई कोठाबाहिरसम्म ल्याएर लास राखेको बोरा बोकेर बाहिर आएँ । त्यसवेला बिहानको ६ बजेको थियो होला । बोरा ट्याक्सीको पछाडिको सिटमा राखेर म ड्राइभरसँगै बसँे । कहाँ जाने पत्तो थिएन । विष्णुमती खोलानजिक, कालीमाटी हुँदै बल्खु निस्किएँ । नख्खु भैंसेपाटी हुदै कार्यविनायकतिर गएँ । कार्यविनायक पुग्नुअगाडि नै ट्याक्सीबाट ओर्लिएँ । अनि डिलमा गएर उभिएँ । यसो हेरेको खोंच रहेछ । लास फाल्न त्यही ठाउँ सुरक्षित हुन्छजस्तो लाग्यो अनि डिलमा पुगेर बोरा झुन्ड्याउन बाँधेको डोरी फुकाई गिँड डिलबाट खसाले ।

मनमा बेचैनी बढिरहेको थियो । त्यसैले विनायकको मन्दिर गएर गणेश भगवान्को दर्शन गरे । मिनीबस चढेर कोठामा आएँ । गिंड त तह लाग्यो । हात-खुट्टा र टाउको के गर्ने होला ? फ्रिजमा राखे पनि गन्ध आइरहेको थियो । हात-खुट्टाको टुक्रालाई झिकेर ट्वाइलेटमा लगेर साबुनपानीले धोएँ, अनि कपडाले राम्ररी पुछेर अर्को प्लास्टिकमा पोको पारेर काटुर्नमा हालेँ ।कतै गन्हाउला कि भनेर कार्टुनमा राख्नुअगाडि कार्टुनभित्र प्लास्टिक राखेर सेन्ट छरे । हातखुट्टा र टाउको छुट्टाछुट्टै कार्टुनमा हालेर कार्टुनटेप लगाएर प्याक गरे । कार्टुन झुन्ड्याउन मिल्नेगरी डोरी बाँधेको थिएँ । आज त जसरी पनि फाल्नैपर्छ । त्यसैले कार्टुन बोकेर हिँडेँ म । कलंकी आइपुगे । त्यसवेला माओवादीले १० बजेदेखि १२ बजेसम्म चक्काजाम गरेको थियो । त्यसैले हतार-हतार नारायणघाट जाने माइक्रो चढँे । हातखुट्टा भएको कार्टुन माइक्रोको छतमा राखेँ ।

कहाँ पुगेर ओर्लिने पत्तो थिएन । माइक्रोको झ्यालबाट बाहिर हेर्दै हिँडे । मुग्लिनबाट केही तल ओर्लिएँ । म ओर्लिएको स्थान मुग्लिनदेखि २० किलोमिटर पर होला । सडकको छेउमा गएँ । कार्टुन खोलातिरको झ्याङमा फालिदिएँ ।अब काठमाडौं र्फकनैपर्‍यो । एउटा मोटरसाइकल आइरहेको रहेछ । रोकेर लिप\mट मागेँ । र, मुग्लिनसम्म आएँ । पोखरातिरबाट आएको माइक्रो चढेर काठमाडौं आएँ । ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा मागेँ ।

फिरौतीको लोभ
२७ जेठ
आज जसरी पनि टाउको फाल्नु थियो । प्लास्टिकमा पोको पारेर कार्टुनमा राखेर चामलको बोरामा टाउको हालेँ । कार्टुन बोकेर बालाजु बसपार्क पुगँे । रानीपौवा जाने गाडीमा चढेर मुड्कु चौकीनजिकै गाडीबाट ओर्लिएँ । मुड्कु चौकी नपुग्दै सडक-किनारदेखि तल जंगलमा बोराबाट टाउको निकालेर प\mयाँकिदिएँ ।धेरै राहत महसुस भयो । सबै लास फालियो । हल्का महसुस गर्दै कोठामा फर्किएँ । लास काट्न प्रयोग गरेको चुप्पीमा बोसो नगएकाले ग्यास गिजरको तातोपानीले चक्कु धोएँ । ख्यातिको जिउको बाँकी रहेको टुक्रा कपडा प्लास्टिकमा पोको पारी विजेश्वरी खोलामा लगी फ्याँकिदिएँ । ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा माग्ने क्रम जारी थियो ।

व्यवस्थापन सकिएपछि
२८ जेठ
लास व्यवस्थापनको काम सकिएपछि ढुक्क भएर ख्यातिको परिवारसँग पैसा उठाउनतिर लागे । कहिले फोन गथें, कहिले एसएमएस । प्रायः हिन्दीमा कुराकानी गर्थें म । 'लडकी जिन्दा चाहिए तो पैसा दो' भन्थेँ । तर, कुरा मिलिरहेको थिएन ।

पक्राउ परिने डर थियो
२९ जेठ
एकै ठाउँमा बसेर फोन र एसएमएस गर्दा पक्राउ परिने डर बढ्यो । ठाउँ 'चेन्ज' गरी-गरी फोन र एसएमएस गरेँ । फिरौतीका लागि कुरा मिल्यो । उनीहरू दस लाख दिन तयार भए । तर, अब रकम कसरी लिने ? आफैँ लिन जाऊँ भने चिनिहाल्छन् । अर्को कोही थिएन । उनीहरूसँग कहिले भैरहवा र कहिले सुनौलीमा पैसा लिने कुरा गरे । पछि काँकडभिट्टामा पैसा लिने कुरामा सहमति भयो ।

सुरु भयो नाटक
३० जेठ
काँकडभिट्टामा रकम लिन जानुअगाडि अर्को नाटक रचेँ । ख्यातिको घरमा फोन गरेर आफ्नो एकजना आफन्तको छोरी पनि अपहरणमा परेको र सोही समूहले ख्यातिको अपहरण गरेको नाटक गरेर अपहरणकारीले 'तपाइंहरूको नम्बर दिएर ख्यातिका लागि तिर्ने फिरौती सँगै लिएर आउनू भनेको छ' भने । मैले आफ्नो नाम राजेन्द्र मानन्धर भएको बताएँ ।फेरि नाम फेरेर प्रमोद सिंह बनेँ । अनि ख्यातिलाई पुतलीसडकमा पुर्‍याउन आउने बिक्कीलाई काँकडभिट्टा पठाउनू भनेँ । मृतकका एक आफन्त एक्लै काँकडभिट्टा गएछन् । मैले पक्राउ परिने डरले रकम ल्याउँदा कुनै पनि बैंकको ट्याग नभएको र सिरियल नम्बर नमिलेको पैसा ल्याउनू भनेको थिएँ ।ती आफन्त रात्रिबस चढेर काँकडभिट्टा लागेपछि राजेन्द्र मानन्धर बनेर मैले फोन गरी 'भाइ म राजेन्द्र मानन्धर बोलेको, तपाइंको नम्बर मलाई प्रमोद सिंहले दिएको हो । उसले तपाईं र म काँकडभिट्टामा सँगै बस्नू भनेको छ' भनेँ ।

असफल पहिलो प्रयास
३१ जेठ
ती आफन्त बिहान काँकडभिट्टा पुगेछन् । उनले मलाई एसएमएस गरेर आफू आसाम होटलमा बसेको बताए । मैले काठमाडौंमा मेरिनालाई पहिला नै तीनवटा एसएमएस लेखेर छाडेको थिएँ । उनले मेरो योजनाअनुसार नै ती आफन्तको मोबाइलमा काठमाडौंबाट एसएमएस पठाइदिइन् ।मैले आसाम होटलनजिकैको एक पसलमा बसेर कोक खाएँ । त्यहीँबाट राजेन्द्र बनेर आसाम होटलमा बसेका ख्यातिका आफन्तलाई फोन गरेर सिलिगुढी बोलाएँ । ती आफन्तको हुलिया कस्तो छ, मलाई थाहा थिएन । होटलमा सोधखोज गर्दा पनि थाहा भएन । रेस्टुरेन्टमा बसेको एक व्यक्ति ख्यातिका आफन्त हुन् कि जस्तो लागेकाले उनको नजिक गएर घर सोधेँ । उसले आफ्नो घर काँकडभिट्टा बतायो ।

मसँग भारतीय सिम थियो । त्यसैबाट फोन गरेर राजेन्द्रको नाम लिएर ती आफन्तलाई 'डिलका लागि सिलिगुढी हुँदै दार्जिलिङ जानुपर्ने भयो' भने । मैले आसाम होटलमा आएर खोज्दा भेट भएन पनि भनेँ । उसले त ख्यातिको मोबाइलबाट प्रमोद सिंहले फोन नगरेसम्म आफू कतै नजाने बताए । मैले प्रमोद सिंहले भनेकाले म आएको भनेँ, तर उसले पत्याएन । पब्लिकबुथबाट काठमाडौंमा फोन गरेर प्रमोद बन्दै तपाईंको मान्छेलाई राजेन्द्रले जे भन्छ त्यही मान्नू भने । तर, ती आफन्त डराएछन् । उनी काँकडभिट्टाबाट विराटनगर हुँदै काठमाडौं भागे । योजना असफल भयो । म पनि बेलुकातिर नाइटबसमा काठमाडौं आएँ ।

बाटोमा भेटिए सहयोगी
१ असार
नौ बजेतिर नागढुंगा आइपुगेँ । उपत्यका बन्द पो रहेछ । अब हिँड्नुको विकल्प थिएन । बाटोमा हिँड्दै आउँदा प्रकाश गुरुङ नामको अन्दाजी २५ वर्षको व्यक्तिसँग चिनजान भयो । ऊ भारत खर्साङनिवासी रहेछ । मैले उसलाई फिरौती उठाउने काममा लगाउने योजना बनाएँ । मेरो एउटा सुटकेस रिसिभ गरिदिएबापत ५० हजार दिन्छु भनेको ऊ तत्काल सहमत भयो ।मेरिनासँग भेट नभएको धेरै भएको थियो । त्यसैले मध्याह्नतिर वनस्थलीनजिक ढुंगेधारामा उनलाई बोलाएँ । उनीसँग ख्यातिको सिमकार्ड थियो । त्यो लिएँ । आठ बजेतिर ख्यातिको सिम प्रयोग गरेर उनका आफन्तलाई फोन गरेँ र, ३ गते काँकडभिट्टामा आउनू भनेँ । कतै नआउने पो हुन् कि जस्तो लागेर- यो अन्तिम अवसर हो यसपटक गडबड भयो भने अर्को चान्स दिन्नँ भनेर धम्क्याएँ ।

काठमाडौं टु सिलिगुढी
२ असार
एक बजेतिर प्रकाशसँग भेट गरेँ । उसलाई भेटेर पैसा लिनेबारे सम्झाएँ । ख्यातिको आमालाई फोन गरेँ र, घरमा काम गर्ने केटा 'राम'लाई लिएर आउनू भने । अनि प्रकाशलाई लिएर पाँच बजेको टिकट काटेर काँकडभिट्टा हिँड्यौँ । उनीहरू पनि बेलुका नै बस चढेर काँकडभिट्टा हिँडेको जानकारी पाएँ ।

डिल फाइनल
३ असार
ख्यातिको आमा र राम बिहान काँकडभिट्टा पुगेर उही आसाम लजमा बसेका रहेछन् । हामी १० बजेतिर पुग्यौँ । प्रकाशलाई सुब्बा होटलमा राखेँ । म लुम्बिनी होटलमा बसेँ । आसाम होटलमा ख्यातिकी आमा छन् कि छैनन् भनेर बुझ्न गएँ । होटल पुगेको एक/डेढ घन्टापछि ख्यातिकी आमा चिया खान तल ओर्लिइन् । ख्यातिकी आमा टेबुलमा बसिरहेकी थिइन् । चिन्लान् कि भनेर मैले कालोटोपी र चस्मा लगाएको थिएँ । मैले घोप्टो परेर चाउमिन मागे । होटलमा चाउमिन छैन भनेपछि म बाहिरिएँ । केही समयपछि ख्यातिको मोबाइलबाट उनकोे आमालाई फोन गरेर हिन्दीमा किन बाहिर निस्केको भने । उनले म कोठामै छु भनिन् । ठीक छ खाना खाए हुन्छ भनेँ । मलाई होटलवरिपरि पुलिसहरू छन् कि जस्तो शंका लागेर होटल परिवर्तन गर्न भनेँ ।

ख्यातिकी आमाले अर्को होटलमा गएर फोन गरिन् । मैले सिलिगुढीमा आएर पैसा दिनू भने । मैले काम गर्ने केटालाई लजमा छाडेर एक्लै आउनू भने । १२ बजेतिर आमा पैसा लिएर एक्लै हिँडिन् । म पुग्नुअगाडि नै आमा हिँडिसकिछन् । मैले फोन गरेर किन नबसेको, काठमाडौं जानुस् उतै डिल हुन्छ भने ।ख्यातिको फोनबाट काठमाडांैमा रहेका ख्यातिका आफन्तलाई फोन गरेर दिउँसो तीन बजेतिर रामलाई काँकडभिट्टाको बसपार्क पठाउन भने । राम लजबाट बाहिर निस्केर सडकमा हिँडिरहेको थियो । मैले प्रकाशलाई फोन गरेर अप्सरा होटलमा बस्नू भने । हात हल्लाएर बोलाएँ र रामलाई लिएर सिलगुढी हिँडेँ ।

रामले डराएर मलाई नै पैसा दियो । राखभन्दा मानेन । अनि उसलाई लिएर सिलिगुढीतिर गएँ । सिलिगुढीको अप्सरा होटलमा प्रकाश बसेको थियो । ऊ बाहिर निस्केर पैसा लियो । त्यहाँ १५ मिनेट बसेपछि राम डरायो । ऊ काँकडभिट्टा जान्छु भनेर हिँड्यो । मेडिकल चोक आइपुगेपछि ऊ बेपत्ता भयो । म पनि काँकडभिट्टा फर्किएर लुम्बिनी होटलमा बसँे । ख्यातिकी आमालाई फोन गरेर पानीट्यांकीमा छोरी लिन बोलाएँ । तर, म गइनँ । उनी आएर दुई घन्टाजति बसेर हिँडिछन् ।

यसरी बाडियो फिरौती
४ असार
बिहानै ख्यातिकी आमाले फोन गरेर छोरी र राम खोइ भनेर सोधिन् । मैले दुवैजना मसँगै छन् भने । मेरी छोरी कहिले आउँछे भनेर सोध्दै थिइन् । मैले भोलि बिहान छाडिदिन्छु भनेँ र, विराटनगरको एयरपोर्टमा छोरी लिन आउनू भनेँ ।बिहानै प्रकाशलाई भेटे । उसले पैसा माग्यो । मैले अझै काम भएको छैन, त्यो काम गर्ने केटालाई खोज भने । ऊ रिक्सामा चढेर काम गर्ने केटालाई खोज्न गयो । तर, राम भेटिएन । उसले पटक-पटक पैसा मागेपछि ५० हजार दिएँ । पाँच बजेतिर काँकडभिट्टाबाट काठमाडौं आउने बसमा नाम फेरेर रामशरण मानन्धर र ठेगाना वीरगन्ज लेखाएर टिकट काटँे ।

झुक्याइरहेँ परिवारलाई
५ असार
बिहानै ख्यातिकी आमाले आफू एयरपोर्टमा छु भनेर फोन गरिन् । बाटोमा गाडी बिगि्रएकाले ढिलो हुने भयो, भारतीय नम्बर प्लेटको गाडीमा आइरहेका छौँ भनेर ढाँटेँ । मैले नाम ढाँटेर प्रमोद सिंह भन्दै एयरपोर्ट आइपुग्न तीन घन्टाजति लाग्ने एसएमएस पठाएँ । एक बजेतिर काठमाडौं आइपुगेँ । कोठामा पुगेर नुहाएँ । कोठाको ल्यान्डलाइन फोनबाट सोल्टी क्यासिनोको कर्मचारीलाई बालाजु चोकमा पैसा लिन आउनू भनँे । ख्यातिको परिवारसँग लिएको रकमबाट ९४ हजार ऋण तिरेँ ।

यसरी पर्‍यो फन्दामा
६ असार
बिहानै उठेर पशुपतिनाथ दर्शन गर्न गएँ । छोरीले इकु फिल्म हेर्नुपर्‍यो भनिरहेकी थिई । पशुपति दर्शन सकेर फिल्मको टिकट लिन गोपीकृष्ण हलमा गएर इकुको दुईवटा टिकट काटे । टिकट बोकेर म ससुराली गएँ । त्यस्तै, साढे नौ बजेतिर सोह्रखुट्टेमा रहेको पान पसलमा पान खान गएँ । पान खाएर फर्कंदै थिएँ, ट्राफिक प्रहरीले रोक्यो र लाइसेन्स माग्यो । मैले लाइसेन्स झिकेर देखाउनासाथ केही व्यक्तिले पक्राउ गरे । ती प्रहरी रहेछन् ।
(भियुक्त वीरेनले प्रहरीसमक्ष दिएको बयानको आधारमा यो डायरी तयार पारिएको हो ।)

0 प्रतिक्रियाहरु:

Post a Comment

 
Design by सुर्य बहादुर खत्री . सम्पूर्ण सर्बधिकार भोईस अफ सिन्धु मा निहित। .